उदासिनताको रोग (डिप्रेसन) भनेको के हो ?
उदासिनताको रोग (डिप्रेसन) भन्नाले दैनिक जीवनमा तपाईले आफ्नो र वरिपरिको वातावरणबारे तथा अरुहरु प्रति राख्ने नकारात्मक विचार शैलीलाई बुझीन्छ ।
यसमा नकारात्माक विचार, खिन्न हुने, दिक्क लाग्ने, उत्साहको कमी, कमजोरी महसुस हुने देखि गम्भिर शारिरीक समस्याहरु आदि पर्दछन् ।
कसलाई लाग्न सक्छ उदासिनताको रोग (डिप्रेसन) ?
जुन सुकै उमेर वा लिङ्गका मानिसलाई यो रोग लाग्न सक्छ । कुनै पनि समयमा दश जना मानिस मध्य एक जनामा यो रोगको केही लक्षणहरु पाईन्छ ।
निम्न अवस्थामा उदासिनताको रोग (डिप्रेसन) हुने सम्भावना बढि हुन्छः-
- कुनै समयमा परिवारका कसैलाई यो रोग लागेको छ भने
- गलत खानपान
- बाल्यावस्थामा गहिरो मानसिक चोट परेमा
- बढि उमेर (बृद्धावस्था) भएमा
- दिर्घकालिन रोग लागेमा
- मानसिक तनाव भएमा
उदासिनताको रोग (डिप्रेसन) का कारणहरुः-
- मस्तिष्कमा न्यूरोट्रान्समिटर भनिने केहि रसायन हुन्छ जसले मानसिक सन्तुलन बनाई राख्ने काम गर्छ ।
- यदि मस्तिष्कमा यि रसायनहरु पर्याप्त मात्रामा नभए उदासिनताको रोग (डिप्रेसन) हुन्छ ।
के तपाई उदासिनताको रोग (डिप्रेसन) बाट पिडित हुनुहुन्छ ?
यदि तपाईमा, २ हप्ता वा लामो अवधिसम्म यी मध्ये ५ वा बढी लक्षणहरु ( बुदा नं ४ र बुदा नं ९ मा भएको लक्षणहरु भने हुनै पर्छ) देखिएमा तुरुन्तै चिकित्सकलाई भेट्नुहोस् ।
१) थोरै सुत्ने वा धेरै सुत्ने
२) अरुले देख्दा बेचैन हुने
३) निर्णय लिन वा एकाग्र चित्त गर्न नसक्ने
४) दिन भरि नै उदास रहने *
५) आफुप्रति ग्लानी महसुस हुने र बेकामे भएको महसुस गर्ने
६) थकान वा उर्जाको कमी महसुस हुने र भोक नलाग्ने
७) वजन वा खानाको रुचिमा विशेष परिवर्तन
८) बारम्बार मृत्युको बारेमा सोच्ने
९) आफुलाई मनपर्ने कामहरुमा मन लाग्न छाड्ने *
नोटः * = यी लक्षणहरु भने हुनै पर्छ ।
उपचार नगरे यी लक्षणहरु हप्ता, महिना वा वर्षौ सम्म पनि रहिरहन सक्छ ।
उदासिनताको रोग (डिप्रेसन) का लक्षणहरुको कसरी निवारण गर्ने ?
१) औषधिद्वारा उपचारः एन्टिडिप्रेसेन्ट:
एन्टिडिप्रेसेन्ट (उदासिनताको रोग विरुद्धको औषधि) ले हाम्रो सोचाइमा असर पार्ने मस्तिष्कको रसायनहरुको कृयाकलापमा बृद्धि गराउँछ ।
यी औषधिहरु न्युनत्त्म ६ महिनासम्म * लिनु पर्छ अथवा रोगको गम्भिरता वा उमेरको आधारमा त्यो भन्दा लामो अबधिसम्म पनि सेवन गर्नु पर्ने हुन सक्छ ।
* = निको हुन थालेको ३ महिनापछि पुनः उदासिनताको रोगका लक्षणहरु बल्झिने सम्भावना धेरै हुन्छ ।
२) औषधिको प्रयोग बिना गरिने उपचार
- कग्निटिभ बिहेभियर (CBT):
यो विभिन्न प्रश्नावली तथा अभ्यासहरुको माध्यमबाट तपाईको सोच्नेशैलीको व्यक्तिगत मूल्याङ्कन गर्ने प्रक्रिया हो । यसले परिस्थितीलाई भिन्नै ढंगले हेर्ने तथा त्यसलाई समाधान गर्ने सीपको विकास गर्न मद्दत पुर्याउछ । - इन्टरपर्शनल थेरापी (IPT):
यो आपसी सम्बन्धबारे तथा कुराकानी गर्न गाह्रो हुने अनि भित्री चोट परेका कुराहरु जस्ता समस्याहरुमा केन्द्रित भई गरिने उपाचार पद्धति हो । - परामर्श (Counselling):
परामर्शको माध्यमबाट समस्याहरुको समाधान गर्ने तथा अप्ठ्यारो परिस्थितिसँग जुझ्न नयाँ उपायहरु निकाल्ने गरिन्छ । - विद्युतिय झट्काको प्रयोग (Electro Convulsive Therapy ‘ECT’):
ECT लाई अन्तिम उपाएको रुपमा प्रयोग गरिन्छ । रोगको गम्भीर अवस्थामा पर्न सक्ने आपतकालीन परिस्थितिमा इलेक्ट्रोडको माध्यमबाट दिमागमा विद्युतिय झट्का दिइन्छ ।
उदासिनताको रोग (डिप्रेसन)को उपचारमा प्रयोग हुने औषधिबारे केहि जानकारी:
- उदासिनताको रोग (डिप्रेसन)को औषधिको लत लाग्ने वा बानी पार्नु हुदैन ।
- यिनीहरु खुशी बढाउने वा दुःख घटाउने औषधि होइनन् ।
- हरेक दिन नियमित सेवन गर्दा मात्र यसले काम सुरु गर्छ ।
- तपाईको औषधिले असर देखाउन केहि समय लाग्छ ।
- कसै कसैलाई हल्का साइड इफेक्ट हुने भएकोले र औषधिले अझै काम गर्न थालेको छैन जस्तो लाग्ने भएकोले पहिलो हप्ता सबैभन्दा गाह्रो महशुस हुन्छ ।
- तत्काल निको हुन थालेको जस्तो नभएपनि औषधिको नियमित सेवन गर्न नछाड्नुहोस् ।
- यदि तपाई मदिरा वा अन्य औषधिहरु लिँदै हुनुहुन्छ भने आफ्नो चिकित्सकलाई भन्नुहोस् ।
- चिकित्सकले भने अनुसार औषधि सेवन गर्नुहोस् ।
- साइड इफेक्टहरु केहि दिनमा हराउछन् र औषधिले असर देखाउन शुरु गर्छ ।
धेरैजसो मान्छेहरु ३-४ हप्तामा राम्रो अनुभव गर्न थाल्छन् ।
नोटः औषधि बन्द गर्नुभन्दा पहिले सदैव आफ्नो चिकित्सकको सल्लाह लिनुहोस् । अचानक बन्द नगर्नुहोस् ।
उदासिनताको रोग (डिप्रेसन)मा आफ्नो देखभालः
१) शारीरिक रुपमा सक्रिय रहनुहोस्
- व्यायाम गर्नु होस्
- खेल्नुहोस्
- हिडडुल गर्नुहोस्
- पौडी खेल्नुहोस्
२) रमाइला कामहरुका लागि समय निकाल्नुहोस्
- सिनेमा हेर्नुहोस्
- संगीत सुन्नुहोस्
- कुनै सौखको काम गर्नुहोस्
३) आफ्ना सहयोहीहरु माझ समय बिताउनुहोस्
- एक आपसमा अङ्गालो मार्ने
- साथीहरुसँग कुरा गर्ने
४) तनाब रहित रहन शरिर शिथिलिकरण्को अभ्यास गर्नुहोस्
- तनावग्रस्त महसुस भएमा नुहाउनुहोस्
- ध्यान गर्नुहोस्
५) साधारण लक्ष्य बनाउनुहोस् तथा पूरा गर्न सानो-सानो कदम चलाउनुहोस्
- आफुले पुरा गर्न सक्ने वास्तविक लक्ष्य निर्धारण गर्नुहोस्
- आफ्नो सफल्ताको खुशी मनाउनुहोस्
- ठूलो समस्यालाई एकै पटक समाधान गर्ने प्रयास नगर्नुहोस्, साना चरणहरुमा बाँड्नुहोस् र प्रयास गर्नुहोस्
६) सन्तुलित पोषणयुक्त खानेकुरा खानुहोस्
- तयारी खनेकुराहरु (Junk Food) कम खानुहोस्
- मदिरापान र धुम्रपानबाट टाढा रहनुहोस्
- ताजा फल तथा सागसब्जीहरु सेवन गर्नुहोस्