नेपाली चलचित्र नगरीमा नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहने गर्दछ ।
कुनै पनि व्यक्तिलाई कुनै उपाधिले सम्बोधन गर्ने वा नगर्ने, मानिसको व्यक्तिगत इच्छामा निर्भर गर्ने कुरा हो ।
कुनै व्यक्तिलाई यसो भन्नैपर्छ वा यस्तो भन्न हुँदैन भन्ने कुनै पनि सिमाना छैन । जसले जे सोच्छ, त्यस्तै भन्न सक्छ ।
रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी नै धेरै छन् । दर्शकलाई यो कुरामा कुनै गुनासो छैन ।
निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले "राजेश हमाल महानायक हो र ?" भनेर दिएको अभिव्यक्तिपछि फेरि चलचित्र बजारमा यो बिषय गर्माएको छ । उसो त, यो अभिव्यक्तिमा दीपाले माफी पनि मागिसकेकी छिन् ।
तर, दीपाको यो अभिव्यक्तिपछि सुरु भएको प्रतिक्रिया हेर्दा, नेपाली चलचित्र क्षेत्रमा राजेश हमालले कस्तो उचाई बनाएका रहेछन् भन्ने प्रष्ट वुझ्न सकिन्छ ।
एक जना निर्देशकले ‘राजेश हमाल महानायक हो र ?’ भनेर प्रश्न सोझाउँदा सामाजिक संजाल यसरी गर्मायो कि, दीपाले मैले यस्तो भन्न खोजेको थिइन भनेर स्पष्टिकरण दिनुपर्यो ।